२७ भदौ, काठमाडौं ।
नेपालकै इतिहासमा महिलाले पहिलो प्रधानमन्त्री बन्ने अवसर आएको छ । यसअघि पहिलो महिला प्रधान न्यायाधीशको कीर्तिमान बनाइसकेकी सुशीला कार्की आज बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
गत २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै प्रतिनिधिसभा के हुने भन्नेमा अन्यौल सिर्जना भएको थियो । केही कानुनविद् र राजनीतिक दलका नेताहरूले संविधानसम्मत् तरिकाले यही संसदबाटै समस्याको समाधान खोज्नुपर्ने बताउँदै आएका थिए । आन्दोलनको नेतृत्व गरेको जेन–जी समूहले भने संसद भङ्ग गरी ताजा जनादेशमा जाने माग गरेको थियो । अन्ततः तीन दिन लामो बहस, छलफल र तनावपछि नागरिक सरकार बनाउने र संसद भङ्ग गर्ने सहमती जुटेको हो ।